एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा नेकपा एमालेसँग तालमेललाई पनि बढाएको छ । प्रदेश सभा र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम अन्तिम टुङ्गो लगाएको राप्रपाले एमालेसँग तालमेल भएका ठाउँमा आफ्ना उम्मेदवारलाई फिर्ता गर्ने सहमति गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा तीन सय ३० उम्मेदवार केन्द्रले छनोट गरेको छ ।

समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने छ । त्यसरी तालमेल भएमा केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने नेता सुन्दर पाण्डेले जानकारी दिएका हुन् ।

राप्रपा र नेकपा (एमाले) को शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के कति सिट सङ्ख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्य समितिले केही उम्मेदवारका नाम परिवर्तन गर्नेछ । दुवै पार्टीका अध्यक्षबीच शुक्रबार नै तालमेलमा सिटको टुङ्गो लगाउने कार्यतालिका रहेको पाण्डेले जानकारी दिए ।