लेक लागेर एक दम्पतीको मृत्यु

काठमाडौँ । लमजुङमा एक दाम्पतीको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटलमजुङमा स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उहाँकी श्रीमती २६ वर्षीया शर्मिला तामाङ रहेका छन् । उनीहरु लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको हो ।

उनीहरु मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो । योञ्जन दम्पतीको शव सोमबार सर्लाही ल्याइएको छ । दोर्दी र मस्याङ्दी गाउँपालिकाको सीमा क्षेत्रमा करिब ३ हजार ९ सय मिटर उचाइको स्याङ्बोमा लेक लागेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिएका छन् ।

योञ्जन दम्पतीसँगै गएका बेंसीसहर नगरपालिका–१०, साँधुका १८ वर्षीय करण तामाङको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । करिब ४ हजार मिटर आसपास जुम्रोडाँडा क्षेत्रमा ढलेका योञ्जन भोलिपल्ट बिहीबार मृत भेटिएका थिए ।