कालिका मन्दिरको आम्दानी ३५ लाख

काठमाडौँ । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा ३५ लाख ३७ हजार ८ सय ४९ भेटी सङ्कलन भएको जानकारी दिइएको छ । आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा १९ लाख ४० हजार ६ सय ६० खर्च भएको जानकारी दिएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलबका लागि ५ लाख २ हजार, बिद्युत महशुलमा रु १८ हजार अतिथि सत्कारमा १४ हजार, आर्थिक दान रु १० हजार, पूर्वाधार निर्माणमा रु १२ लाख ८ हजार, खाद्यान्न तथा आवासमा रु ४४ हजार ५ सय, मर्मत सम्हारमा रु १४ हजार ७ सय ४३ तथा सांस्कृतिक कार्यक्रममा १ लाख २२ हजार ५ सय खर्च भएको छ । अन्य खर्चमा रु ६ हजार देखाइएको छ ।

आम्दानीतर्फ भेटीमा मात्रै रु १९ लाख २२ हजार सङ्कलन भएको हो भने चामल बिक्रिबाट रु ८५ हजार, बोकाको टाउकोबाट २ लाख १३ हजार, कुखुराबाट रु १७ हजार, राँगोबाट ५ हजार ८ सय र घरभाडाबाट ३ लाख ८२ हजार सङ्कलन भएको हो । विवाह गरेको रु १३ हजार, आर्थिक सहयोगबाट १ लाख ७६ हजार तथा परेवाबाट रु ६ लाख ७६ हजार सङ्कलन भएको बताइएको छ ।

असोज महिनाभरमा भक्तजनले चाँदीको औँठी एक थान, चाँदीको सिक्का एक थान, चाँदीकै घोडा एक थान र सुनको टीका दुई थान भेटी चढाएका थिए । त्यस्तै चाँदीको पाउजु दुई जोर, सुनको मुन्द्रा एक वटा, सुनको तिलहरी एक तथा सुनको टुक्रा एक र चाँदीको ताज एक वटा अन्दाजी पाँच तोलाको चढाएको जानकारी गराइएको छ ।