अपाङ्गता भएका व्यक्तिलाई गराइयो मतदान अभ्यास

विराटनगर । विराटनगरमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचनलाई दृष्टिगत गर्दै अपाङ्गता भएका व्यक्तिलाई मतदान अभ्यास गराईएको छ ।

नेत्रहीन युवा संघको आयोजनामा विराटनगरस्थित आदर्श विद्यालयमा दृष्टिबिहीन तथा शारीरिक रुपमा अशक्तलाई मतदाता शिक्षासहितको अपाङ्गतामैत्री नमुना मतदान अभ्यास गराईएको हो । उनीहरुलाई मतपत्र पहिचान, उम्मेदवारको जानकारी, मतदान प्रक्रिया र मतदानस्थलमा अपनाउनुपर्ने आवश्यक अनुशासन तथा सुरक्षा संवेदनशीलता बारे प्रशिक्षण पनि दिईएको छ ।

विगतमा हुँदै आएको मत बदरको अवस्थालाई अन्त्य गर्न अपाङ्गगता भएका ६० जनाभन्दा बढीलाई निर्वाचन केन्द्रित प्रशिक्षण दिईएको नेत्रहीन युवा संघका मोरङ जिल्ला अध्यक्ष दुर्गानाथ योगीले बताएका छन् ।

सोमबारदेखि शुरु भएको मतदान अभ्यास कार्यक्रम जिल्लाभरि सञ्चालनको हुनेछ । अर्को चरणको अपाङ्गतामैत्री नमुना मतदान भने उर्लाबारीमा गर्ने योजना रहेको संघले जानकारी दिएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई मतदाता शिक्षा प्रदान गर्न नेत्रहीन युवा संघले २५ जना तालिमप्राप्त प्रशिक्षकको टोली तयार पारेको छ । टोलीले मोरङभर अपाङ्गता भएका नागरिकको घरघरमा पुगेर मतदाता शिक्षा प्रदान गर्नेछ । सो अभ्यासले मत बदर हुनबाट जोगिनुका साथै अपाङ्गता भएका व्यक्तिमा आत्मविश्वास बढने अपेक्षा गरिएको संघका परियोजना संयोजक विशाल राईको भनाई छ ।