तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । प्रवक्ता श्रेष्ठलेका अनुसार बिहान ६ः३० बजेको समयमा चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।

“घरदेखि सानिआमाको घरको दूरी २ सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ”, उनले भने । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् ।

पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।