कोइला अभावका कारण बन्द रहेको हेटौँडा सिमेन्ट पुनः सञ्चालन

काठमाडौँ । कोइला अभावका कारण बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । कोइला अभावसँगै उद्योगको किल (क्लिङ्कर उत्पादन गर्ने) मा समस्या आएका कारण गत साउन महिनादेखि उद्योगको उत्पादन ठप्प रहेको थियो ।

उद्योगका प्रवक्ता अशोक गौतमले कोइला आपूर्ति हुन थालेसँगै बन्द उद्योगबाट क्लिङ्कर उत्पादन प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।
उद्योगमा कोइला आपूर्ति भएसँगै उद्योग सञ्चालनमा आए पनि अझै पर्याप्त कोइला मौज्दात नभएका कारण जुनसुकै समयमा उद्योगको उत्पादन बन्द हुने जोखिम टरेको छैन । उद्योगमा अहिले २ हजार टन मात्र कोइला मौज्दात छ ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले नियमित रूपमा कोइला आपूर्ति भएमा सिमेन्ट उत्पादनले निरन्तरता पाउने बताए । उनले दैनिक २ सय ५० देखि ३ सय टनसम्म कोइला खपत हुने र कोइला आउने क्रम जारी रहेको बताएका छन् ।

नायब महाप्रबन्धक कर्णका अनुसार हाल उद्योगमा करिब १२ हजार बोरा सिमेन्ट प्याकिङ गर्ने क्लिङ्कर रहेको छ । प्याकिङ भएको सिमेन्ट बजारमा बिक्री भइरहेको छ । उद्योग प्रशासनले दशैँअघि नै कोइला आपूर्ति हुने र उद्योग सञ्चालनमा आउने यसअघि बताएको थियो । उद्योगले बिक्री प्रवद्र्धन नीतिको अभावमा उत्पादन भएको सिमेन्ट समयमा बिक्री गर्न नसक्ने समस्या लामो समयदेखि खेप्दै आएको छ ।

उद्योगका प्रवक्ता गौतम निजी क्षेत्रका उद्योगको सिमेन्टभन्दा हेटौँडा सिमेन्टको मूल्य बढी भएकाले मूल्यमा प्रतिस्पर्धा गर्न नसकी बिक्री नहुने समस्या रहेको बताए । हेटौँडा सिमेन्टको उद्योग द्वार मूल्य ५० केजीको प्रतिबोरा ७४६.९३ रुपियाँ रहेको उद्योगको भनाइ छ ।