क्रिकेटर सन्दीप लामिछाने जेल चलान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो ।

पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । सो उजुरीका आधारमा सन्दीप पक्राउ परेका थिए ।

गत मंगलबारदेखि थुनछेक बहस भएको थियो । शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीश घिमिरेको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।