बर्दिया कारागारबाटै निर्वाचन लड्दै शर्मा

काठमाडौँ । बाँकेको निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै छिन् । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सोही कारणले उनी कारागारबाटै निर्वाचन लड्दै छिन् ।

बाँके कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकोले उनीलाई बर्दिया कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

बर्दिया कारागारबाटै शर्माले निर्वाचन लडिरहेको उनका निकटहरूले जानकारी दिएका छन् । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आदेश बदरको माग गर्दै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका निर्वाचन अधिकृत मुनानन्द अधिकारीले दोषी ठहर नहुँदासम्म शर्माको उम्मेदवारी कायम रहने र कारागारभित्र बसेर पनि निर्वाचन लड्न पाउने व्यवस्था रहेको जानकारी दिएको छ ।