जनतालाई मन्त्री होइन, बिकास चाहिएको छ : केपी ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई मन्त्रीभन्दा पनि बिकास चाहिएको बताएका छन् । अध्यक्ष ओलीले भने, एमाले नेतृत्वमा सरकार बनेमात्र दूरदराज, दुर्गम क्षेत्रमा विकास हुन्छ । जनतालाई खानेपानी, सडक, अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ ।” राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट दिएर एमाले नेतृत्वको सरकार गठनमा सहयोग गर्न आग्रह गरेका छन् ।

आइतबार कालीकोटको रास्कोटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । नेपाली भुमिको सुरक्षा, दुर्गमका नागरिकको जिवनस्तरमा सुधार ल्याउन, देशको दिगो बिकास गर्न र युवाको रोजगारी बढाउन एमालेलाई जिताउन उनले आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा गरेको बिकास निर्माण, नेपालीको आयमा बृद्धि र चाइनासँगको पारवाहन सम्झौताले नेपाललाई अग्रगतिमा लगेको बताए ।

देशको पक्षमा काम गर्न थालेपछि विराधी शक्तिले एमालेबिरुद्ध षडयन्त्र गरी सरकार ढालेको अध्यक्ष ओलीले आरोप लगाएका छन् ।

एमालेबिरुद्ध धेरै भ्रम सिर्जना गरेर पटक पटक एमाले र सिङगो कम्युनिष्ट आन्दोलनबिरुद्ध षडयन्त्र भएको उनको टिप्पणी छ । दुईतिहाइ नजिकको कम्युनिष्ट सरकारलाई ढाल्न प्रतिक्रान्ति शक्ति लागेर आफू नेतृत्वको सरकार ढालेको उनले चर्चा समेत गरे ।

मङ्सीर ४ निर्वाचन देश बनाउने शक्तिलाई जिताउने अवसर भएको चर्चा गदै अध्यक्ष ओलीले भने, “अदालतको बलबाट बनेको सरकारले जनताको पक्षमा काम गर्न सकेन, अब यसलाई निर्वाचनबाटै विदा गर्नुपर्छ ।” देश बनाउने शक्ति एमाले मात्र भएकाले मतदान गर्न उनले आव्हान गरे । देशसँगै कालीकोटमा एमालेले बहुमतसाथ जित्ने उनले विश्वास रहेको बताए ।

हामीसँग जनता साथमा छन् । समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सार्थक बनाउन जनताको साथ अपरिहार्य रहेको उनले चर्चा गदै देशको अवस्था बिग्रन नदिन एमाले नेतृत्वको सरकार अनिवार्य रहेको दाबी गरे ।

दूर्गम क्षेत्रको विकास गर्न दूर्गमकै प्रतिनिधित्व अनिवार्य भएको चर्चा गदै अध्यक्ष ओलीले आफ्नो पार्टी आगामी सरकारको नेतृत्व गर्ने अवसर पाएमा दूरदराजको विकासलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए ।