बिजुली बेचेर देशलाई सम्पन्न र समृद्ध बनाउछौं : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकारले मुलकमा विकासको लहर ल्याउने भन्दै सुदूरपश्चिममा निर्माणधीन रहेका ठुल्ठुला जलविद्युत् आयोजनाहरू सम्पन्न गरी बिजुली बेचेर मुलकलाई सम्पन्न र समृद्ध बनाउने बताएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, पञ्चेश्वर र पश्चिम सेती जलविद्युत् आयोजनाको भारतीय कम्पनीसँग सम्झौता भएको भन्दै भारत नेपालमा बिजुली खरिद गर्न सहमत भएको र भारतलाई वर्षको डेढ अर्बमा बिजुली निर्यात गरिने बताए।

प्रधानमन्त्री देउवाले भने,“यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ ।” ‘हाम्रो देश जनस्रोतको धनी देश हो, ठुला ठुला नदीनालाहरू छन्, बिजुली उत्पादन गरेर हामीले बिजुली बेच्ने भारतलाई नै हो त्यसैले भारतले वर्षका डेढ अर्बको बिजुली किन्ने सहमति भइसकेको छ। बिजुली बेचेर मुलकलाई हामी सम्पन्न, धनी राष्ट्र बनाउछौं। यो तब मात्र सम्भव छ जब गठबन्धनको सरकार बन्छ।’

गठबन्धन आइसकेपछि मुलकमा वैदेशिक लगानी समेत बढेको भन्दै देउवाले मुलुकबाट गरिबी हटाउने बताए। जनमतको उपहास गर्दै केपी ओली सरकारले संसद विघटन गरेर जनमतको उपहास गरेको भन्दै अब यो निर्वाचनमा त्यस्ता तत्वहरूलाई पाखा लगाउन जरुरी रहेको बताए।

लामो सङ्घर्षबाट ल्याइएको संविधानमाथि यसअघि नेकपाको सरकारका प्रधानमन्त्री केपी ओलीले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनेको पनि उनले स्पष्ट पारे ।

अब बन्ने गठबन्धनको सरकारले हालसम्म पनि निर्माण हुन नसकेको अछाम, कैलाली र सुर्खेत जोड्ने चिसापानी जङ्गलघाट सडकखण्डलाई गौरवको योजनाका रूपमा राखेर सडकको कालोपत्र गर्ने बताए । अछाम, कैलाली र डोटी जिल्लालाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक सेती लोकमार्गको निर्माणकार्यलाई छिटो अगाडि बढाउने प्रतिबद्धता जानाएका छन् ।