नेपाल र चीनबीच १६ अर्बको सहयोग सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच करिब १६ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग सम्झौता भएको छ । चीनले घोषणा गरेको सो रकमलाई नेपालले पाउने गरी मंगलबार बेइजिङमा सम्झौता भएको हो ।

नेपालको तर्फबाट नेपाल सरकारको सहमतिअनुसार चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको तर्फबाट चाइना इन्टरनेसनल डेभलेपमेन्ट कोअपरेसन एजेन्सीका प्रमुख लुओ चाओहुईले हस्ताक्षर गरेका थिए ।

गत साउनको अन्तिम सातामा परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणको दौरान चिनियाँ समकक्षी वाङले नेपाललाई आर्थिक सहयोगको प्रतिबद्धता गरेका थिए । उनीहरुबीचको भेटवार्तापछि बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै नेपालले चीनबाट ८ सय मिलियन आरएमबी १५ अर्ब १३ करोड रुपैयाँ सहयोग सन् २०२२ मा पाउने उल्लेख गरेको थियो ।

चीनका लागि नेपालका राजदूत श्रेष्ठले सो रकम प्राप्त गर्ने र त्यसको लागि आयोजनाहरू चीनसँग पेस गर्नु पर्ने प्रस्ट पारेको बताए । उनका अनुसार सन् २०२२ को भनिएको आर्थिक अनुदान सहयोग अब २०२३ सम्मको लागि नेपालले उपयोग गर्न सक्ने सहमति भएको छ । श्रेष्ठले नेपालमा अहिले २१ वटा आयोजनामा चिनियाँहरुले काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी रूपमा अघि बढाउनका लागि छलफलसमेत भएको बताए ।

बुधबार नेपाली राजदूतावासका प्रतिनिधिहरु र चिनियाँ पक्षबीच बेइजिङमा नेपालमा निर्माण भइरहेका र निर्माण हुन बाँकी रहेका परियोजनाको बारेमा छलफल भएको थियो । श्रेष्ठका अनुसार छलफलमा टोखा–छहरे सुरुङ मार्ग, स्याफ्रुबेंसी–केरुङ सडक मार्ग, रसुवाको टिमुरे र काभ्रेको पाँचखालको सुख्खा बन्दरगाह, कोदारी मार्गको स्तरोन्नति, नारायणघाट–बुटवल खण्डको सडक स्तरोन्नति, उपत्यकाको रिङ रोडको बाँकी कामलगायत योजनाहरूलाई अघि बढाउने विषयमा छलफल भएको छ ।

चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्दा घोषणा गरेको त्यस बेलाको ५६ अर्ब रुपैयाँलाई कसरी उपयोग गर्ने सम्बन्धमा पनि दुवै पक्षबीचमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिएका छन् । ‘दुवै पक्षले आ–आफ्नो तर्फबाट गरेको काम र भएको समस्याको बारेमा जानकारी दिएर अगामी दिनमा कामलाई कसरी प्रभावकारी ढंगबाट अघि बढाउने विषयमा छलफल गरेका छन् ।