भक्तपुर २ को मतगणना : कांग्रेसका दुर्लभ थापाको अग्रता

काठमाडौँ । भक्तपुर क्षेत्र नं २ मा रातिदेखि नै मतगणना सुरु भएको छ। आइतबार राति पौने दुई बजेदेखि मतगणना सुरु भएको हो। मतगणना मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ।

सुरुवाती परिणाम अनुसार कांग्रेसले अग्रता लिन थालेको छ। कांग्रेसबाट दुर्लभ थापा क्षेत्रीले दुई हजार दुई सय २८ मत पाएका छन्। एमाले‍का महेश बस्नेतले एक हजार ६ सय ३० मत ल्याएका छन्।

त्यस्तै घण्टीले चार सय २४, मादलले दुई सय दुई सय ५० र हलोले दुई सय ३२ मत पाएको छ। अहिले सूर्यविनायक नगरपालिका क्षेत्रको मतगणना गरिएको छ। त्यस अनुसार सूर्यविनायक नगरपालिका ५ कटुञ्जे, सूर्यविनायक ३ कौशलटार, सूर्यविनायक १ सिरुटारको आदर्श जनप्रेमी मतदान केन्द्रको मत गणना भइरहेको हो।

जिल्लामा तुलनात्मक रुपमा उत्साहपूर्ण रुपमा मतदान भएको थियो। जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरले जनाए अनुसार यहाँ कूल ७२ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाए अनुसार यहाँ कूल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता रहेका थिए। तीमध्ये एक लाख ३९ हजार नौ सय ३८ मत खसेको छ। भक्तपुरका कूल मतदातामध्ये महिलाको संख्या बढी छ। महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन्।

भक्तपुर क्षेत्र नं १ मा ७२.१९ र क्षेत्र नं २ मा ७१.७२ प्रतिशत मत खसेको हो। क्षेत्र नं १ मा कूल एक लाख दुई हजार पाँच सय २८ मतदाता थिए। त्यसमध्ये ७४ हजार १९ मत खसेको छ। यसैगरी क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता थिए। तीमध्ये ६५ हजार नौ सय १९ मत खसेको हो।

भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन्। यस अन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था थियो। जिल्लामा एक हजार सात सय ७६ जना निर्वाचन कर्मचारी खटिएका थिए। त्यस्तै आठ सय ८६ जना म्यादी प्रहरीसहित दुई हजार दुई सय १८ जना सुरक्षाकर्मी परिचालन भएका थिए। निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिएका थिए। अन्नपूर्णपोष्टबाट