पृथ्वीसुब्बा र देव गुरुङबीच कडा टक्कर

काठमाडौँ । नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।

एमालेका पदाधिकारीहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पराजय तथा अग्रता गुमाइरहँदा माओवादी केन्द्रका महासचिव र एमाले उपमहासचिवको चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिसक्दा देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ ३ सय ८ मतलेमात्रै अगाडि छन् ।

सुरुवातको क्व्होलासोंथर गाउँपालिका र दुधपोखरी गाउँपालिकाको मतगणना भइरहँदा पृथ्वीसुब्बाले देव गुरुङलाई १ हजार ९ सय ९ मतले उछिनेका थिए ।

बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको मतगणना बाँकी हुँदा दुईमध्ये कस्ले चुनाव जित्छ भन्ने दुवैपक्षले सहजै आँकलन गर्न सकेका छैनन् । राइनास नगरपालिका र सुन्दरबजार नगरपालिकाबाट सोचे अनुरुपको मत प्राप्त नभएपछि माओवादी केन्द्रका महासचिव गुरुङपक्ष तनावमा रहेको एक नेताले बताए । बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा ‘लिड’ गर्ने उसको दाबी छ ।

स्थानीय तह चुनावमा दुवै पालिकामा सत्ता गठबन्धन पराजित भए पनि देवप्रसाद गुरुङको नातेदार भएको ठाउँ भन्दै व्यक्तिगत प्रभावमा मत आउने उनीहरूको आशा छ । दुवै स्थानीय तहको प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षसहित बहुमत जितेको दुवै पालिकामा अब सहजै जित हासिल गर्ने एमालेको विश्वास छ ।

कूल ८० हजार ४ सय ८४ मत खसेको लमजुङमा ६ वटा स्थानीय तहको ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । उनका अनुसार अब बेसीसहर नगरपालिका र मर्स्ङ्दी गाउँपालिकाको २६ हजार ८ सय १७ मतगणना बाँकी छ । गणना भएकोबाट पृथ्वीसुब्बा गुरुङले २२ हजार ४ सय ३८ मत पाएका छन् । देवप्रसाद गुरुङले २२ हजार १ सय ३० मत प्राप्त गरेका छन् ।

सुरुमा क्व्होलासोंथर गाउँपालिका र दुधपोखरी गाउँपालिकामा मतगणना भइरहँदा पृथ्वीसुब्बाले १ हजार ९ सय ९ मतले अग्रता लिएका थिए । त्यतिबेला कूल १७ हजार ९ सय २८ मतगणना भएको थियो । अब २६ हजार ८ सय १७ मत गन्न बाँकी रहेको भन्दै देवप्रसाद गुरुङपक्ष चुनाव जित्नेमा आशावादी छन् । दुवै पालिका पार्टीले बहुमत ल्याएपनि अझै करिब एकतिहाई मत गणना गर्न बाँकी रहेकोमा पृथ्वीसुब्बा गुरुङपक्ष ढुक्क हुन सकेका छैनन् ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार अहिले समानुपातिक तर्फको मतगणना भइरहेको छ । प्रत्यक्षतर्फको मतगणना भइसकेको ६ वटा पालिकाको समानुपातिक तर्फको मतगणना भएपछि प्रत्यक्षतर्फको मतगणना सुरु हुने उनले बताए । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लमजुङमा कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता थिए । निर्वाचनमा ८० हजार ४ सय ४८ मत खसेको थियो । कान्तिपुरपोष्टबाट