आगलागीमा ३ बालबालिकाको मृत्यु, ३ घाइते

काठमाडौँ । गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको छ। आगलागीमा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । उक्त आगलागीमा अन्य तीन जना घाइते भएका छन्।

गौर नगरपालिका–१ मा रहेको कपडा पलसमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जानकारी दिएको छ ।

घटनामा इस्लाम मियाका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन घाइते भएका छन्। घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले आगलागी घटनाको अनुसन्धान भैरहेको बताएका छन् । एसपी मगरले भने, घटनाबारे अनुसन्धान भइरहेको छ।’ आगलागी हुँदा इस्लामको घरमा परिवारका १६ जना सदस्य सुतिरहेका थिए।

नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । कपडा पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भइ आगो लागेको अनुमान छ।