दर्मिजामा रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण

काठमाडौं । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गरेको बताएका छन् ।

परम्परा, रीतिरिवाज र स्थानीयको एकताका कारण व्यवस्थित गाउँका रुपमा परिचित दर्मिजाका गाउँलेको भेलाले गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी मजदुरको ज्याला निर्धारण गरेका छन्। रघुगङ्गा–४ का गाउँ भेलाले पास गरेको उक्त निर्णयविपरित गरेमा मनपरी गर्ने व्यक्तिलाई सामाजिक वहिष्कारसम्मको कारबाही हुने गरेको बताए ।

बिहीबार सम्पन्न गाउँलेहरुको भेलाले दरभाउ र ज्याला मजदुरी गर्नेको पारिश्रमिक निर्धारण गरेको छ स्थानीय अगुवा धनबहादुर गर्बुजाले बताएका थिए । उनका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी १ सय ५०, कोदो र धान प्रतिपाथी २ सय, जौ प्रतिपाथी १ सय ५०, गहुँ र उवा प्रतिपाथी २ सय मूल्य निर्धारण भएको हो ।

यसैगरी भटमास प्रतिपाथी ४ सय, फापर प्रतिपाथी १ सय ५०, सिमी प्रतिपाथी ६ सय, आलु र पिँडालु प्रतिपाथी १ सय ५०, बेसार प्रतिमाना १ सय ५० र रक्सी जम्बो बोतललाई १ सय ३० निर्धारण भएको छ।

त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति ७ सय, हलगोरु ज्याला प्रतिदिनको १ हजार, साधारण खेताला ज्याला प्रतिदिनको ५ सय, इलेक्ट्रिसियन ज्याला प्रतिदिनको ८ सय, सिकर्मी ज्याला प्रतिव्यक्ति ८ सय, सिमेन्ट प्लाष्टर प्रतिव्यक्ति ८ सय निर्धारण गरेका छन्। त्यस्तै राँगो शुल्क ८ सय, गोरु र बोका समारेको १ सय, लोकल मह र घिउ प्रतिमाना ६ सय र दाउरा काट्ने खेतालाको ज्याला प्रतिदिनको ५ सय निर्धारण गरिएको गर्बुजाले बताए ।

पूर्ववडाध्यक्ष गर्बुजाका अनुसार गाउँमा उत्पादन हुने र बाहिरबाट आयात गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी हुने गरेको बताएका छन् ।