आगलागीबाट एक घर जलेर नष्ट

काठमाडौँ । उत्तरी रोल्पाको थबाङ गाउँपालिका–२ कोइचबाङस्थित स्थानीय शंकर झाँक्रीको घरमा शनिबार आगलागी भएको छ । उक्त आगलागीबाट करिब डेढ करोड बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ ५ बजेतिर ५८ वर्षीय झाँक्रीको घरमा आगलागी भएको थियो । ढुंगा र माटोले बनेको ढुंगाको छाना भएको ३ तले घरमा अचानक आगलागी भएपछि आगो नियन्त्रण गर्न समस्या भएको बताए ।

प्रहरी र स्थानीयले तत्काल आगो निभाउन पहल गरे पनि सफलता नमिलेको स्थानीय शिक्षक गोविन सहयात्रीले बताए । आगलागी हुँदा घरमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन् ।

आगलागीबाट घरमा रहेको सम्पूर्ण सरसामान, अन्नपात, गरगहना जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रारम्भिक अध्ययन अनुसार आगलागीबाट एक करोड ४८ लाख बराबरको सम्पत्ति नष्ट भएको प्रहरीको अनुमान छ । पीडितलाई स्थानीयले खाद्यान्न लगायत आवश्यक कपडा संकलन गरेर प्रदान गरेका छन् । आगलागीको कारण भने पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।