पहिलो पटक शल्यक्रियामार्फत् शिशुको जन्म

काठमाडौं । रुकुमपूर्वका जिल्ला अस्पतालमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरेका छन् । अस्पताल स्थापना भएको ५ वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत शिशु जन्माएकी हुन् ।

शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ की सन्तु बुढाको शल्यक्रिया गरिएको डा पूर्णबहादुर पुनले जानकारी दिए अनुसार शल्यक्रियाको डा नारायण बरालको टोलीले गरेका थिए । सुत्केरी हुने समय नाघेको र सामान्य अवस्थामा शिशु जन्माउन नसकेकाले शल्यक्रिया गर्नुपरेको डा पुनले बताएका थिए । आमा र शिशुको स्वास्थ्य सामान्य रहेको बताएका छन् ।

विसं २०७४ पुस ७ गते रुकुमकोटस्थित स्वास्थ्य चौकीलाई जिल्ला अस्पतालमा परिणत गरेका थिए । आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा जिल्ला अस्पतालले दिने सेवा प्रवाह उल्लेख्य हुन नसकेपछि सांसद विकास कोष र सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा २०७८ असारमा शल्यक्रिया भवन निर्माण गरेका हुन् ।

यसैगरी सिस्ने गाउँपालिकाको ३५ लाख र तत्कालीन प्रतिनिधिसभा सदस्य कमला रोकाको संसद् विकास कोषको १४ लाख गरेर ४९ लाखको लगानीमा शल्यक्रिया भवन निर्माण गरिएको जानकारी दिएका छन् ।