सेयर पाएर पनि रकम भुक्तानी नगर्नेको सेयर नै जफत हुने

काठमाडौँ । त्रिशूली जलविद्युत् कम्पनीको सेयर आईपीओ खरिद गरेर सम्पूर्ण रुपमा रकम भुक्तानी नगर्नेको सेयर नै जफत हुने भएको छ। जलविद्युत् कम्पनीले सार्वजनिक गरेको सूचना जारी गर्दै सेयरवापतको सबै रकम भुक्तानी गर्न फागुन १७ गतेसम्मको म्याद दिएकोे छ ।

समयभित्र रकम भुक्तानी नगरेमा यसअघि तिरिसकेको र ब्याज समेत जोड्दा थपिने रकमको मात्रै सेयर दिई बाँकी सेयर जफत गरिने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी कम्पनीले पहिले नै रकम संकलन गरेकाले ब्याजस्वरुप लगानीकर्तालाई प्रतिकित्ता १ रुपैयाँ २६ पैसाका दरले प्रदान गर्ने भएकाले ८८ रुपैयाँ ७४ पैसाका दरले बुझाउन भनेको थियो। जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत सेयर निस्कासन गरेका थिए । कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका ४६ हजार सर्वसाधारण सेयरधनीले प्रतिकित्ता ८८ रुपैयाँ ७४ पैसाका दरले रकम भुक्तानी गर्न बाँकी रहेको बताएका छन् ।

आईपीओ खुल्दा सुरुमा प्रतिकित्ता १० रुपैयाँका दरले कम्पनीले रकम संकलन गरी बाँकी ९० रुपैयाँ पछि माग गर्ने बताएको थियो । त्यस्तै पहिले प्रतिकित्ता १० रुपैयाँका दरले पैसा बुझाएर सेयर भरेकालाई सेयर बाँडफाँट भइसकेको छ र ती सेयरधनीलाई अब प्रतिकित्ता ९० रुपैयाँ बुझाउनुपर्नेमा ८८ रुपैयाँ ७४ पैसाका दरले बुझाउन भन्दै कम्पनीले जानकारी दिएको छ ।