सैनिक कारबाहीमा आतङ्ककारी समूहका एकको मृत्यु

काठमाडौँ । पाकिस्तानको सेनाले जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा शनिबार एक आतङ्ककारी समूहका कमाण्डरको ज्यान गएको छ । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएको सेनाले जानकारी दिएको छ ।

शनिबार राति पाकिस्तानी सेनाले गरेको विशेष कारबाहीमा उनी मारिएका यहाँको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । पाकिस्तानी सेनाको मिडिया विभाग, आइएसपिआरले सो कुराको जानकारी गराएको हो ।

उत्तरी वाजिरिस्तानको सेवा जिल्लामा सेना र आतङ्ककारी समूहका सदस्यका बीचमा दुई पक्षीय भिडन्त भएको थियो । दुवै तर्फबाट गोली प्रहार भएको र सैनिकको गोली लागेर ती कमाण्डर सरकाई छद्म नामले चिनिने मोहम्मद नुर मारिएका हुन् । उनले सो क्षेत्रका सर्वसाधारण तथा प्रहरीको हत्या गर्ने, मानिसलाई अपहरण गर्ने र फिरौती माग्ने जस्ता काम गरेका थिए ।

पाकिस्तानी सेनाले यहाँका नागरिकको सर्वाधिक खोजीको सूचीमा रहेका मोहम्मद नुरको ज्यान गएको र त्यस कारबाहीका क्रममा अरु केही आतङ्ककारी तथा पाकिस्तानी सेनाका सदस्य घाइते भएका पुष्टि गरेको छ ।