कालीकोटमा प्रहरीद्वारा घरेलु मदिरामा कडाइ

काठमाडौँ । नेपाल प्रहरीले आइतबार दिउँसो कालीकोटको सदरमुकाम मान्म बजारमा घरेलु मदिरामा कडाइ गरेको छ । गत वर्षको फागुन महिना यता मदिरा नियन्त्रणमा प्रहरीले खासै चासो दिएको थिएन ।

सदरमुकाम मान्म तथा आसपासका क्षेत्रमा अवैध मदिराका कारण १४ वर्षदेखि माथिका बालबालिका तथा अन्य नागरिक अपराधजन्य घटनामा सहभागी हुन थालेका र मदिराकै कारणले घरेलुहिंसा बढ्दै गएपछि प्रहरीले घरेलु मदिरा नियन्त्रणको अभियान चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले जिल्ला सदरमुकामसँगै जिल्लाका नौ वटै स्थानीय तहमा घरेलु मदिरा जफत गर्ने बताए । गाउँमा यसकै कारणले विवाद हुने र घटना हुने, बाटोमा हिँड्ने बटुवाले समेत घरेलु मदिरामा सस्तोमा पाउने भएकाले सेवन गरेर अकालमै ज्यान जाने हुँदा नियन्त्रणका लागि जिल्लाबाटै सुरु गरेको जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक यज्ञराज जोशीले आफ्नो कमाण्डमा गएको टोलीले शङ्कास्पद होटलबाट मात्र यति धेरै मदिरा र मदिरा बनाउन प्रयोग हुने वस्तुलाई ल्याएर नष्ट गरेको बताए । प्रहरीले अवैध घरेलु मदिरा ३५ लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५ सय ४० लिटर, मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा ४ थान नियन्त्रण गरी नष्ट गरेको छ ।