दुर्घटना न्यूनीकरण गर्ने तुलसीपुरका चालकहरूसँग अन्तरक्रिया

काठमाडौं । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने विषयमा तुलसीपुरका सवारी चालकहरूसँग अन्तरक्रिया गरेका छन् । लुम्बिनी प्रदेश श्रम तथा यातायात मन्त्रालयको आयोजनामा आज गरिएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसम्बन्धी ऐन नियमको पूर्ण रुपमा पालना नहुँदा दुर्घटना बढेको बताएका छन् ।

मापदण्ड पूरा नभएका सवारीसाधन सञ्चालन, यात्रुहरूले बाटो काट्न नजान्नु, ट्राफिक नियमको पालना नगर्नु, सडकको दूरा अवस्थालगायत कारणले सवारी दुर्घटना बढ्ने गरेको भन्दै उनले दुर्घटना न्यूनीकरण गर्नेका लागि सवारी नियमको पूर्ण रुपमा पालना गर्नुपर्ने बताए । उनले बढ्दो दुर्घटना न्यूनीकरण गर्नका लागि सडक सुधारदेखि सवारीसम्बन्धी सबै संयन्त्र एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका वक्ताहरूले सवारी साधनको अवस्था चुस्तदुरुस्त नराख्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, फितलो ट्राफिक व्यवस्थापन, चालकको लापरबाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु, सडकको अवस्थाबारे जानकारी नहुनु, र तीव्र गतिमा गाडी चाउनुलगायत कारणले दुर्घटना बढेको भन्दै त्यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिएका बताएका छन् ।

यसैगरी लुम्बिनी प्रदेश श्रम तथा यातायात मन्त्रालयका सचिव दीपक नेपालले दाङमा बढ्दो सवारी दुर्घटनाका कारण पत्ता लगाइ त्यसबाट कसरी सचेत रहने भन्नेबारेमा चालकसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । यहाँका सवारी चालकले स्मार्ट सवारी इजातत कार्ड समयमा उपलब्ध गराउन माग गरेका छन् । अन्तरक्रियामा ३० सवारी चालकको सहभागिता रहेको थियो ।

यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख कालिदाश बस्यालले कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन आफू गम्भीर भएर लागेको बताएका छन् । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जिल्लामा १ वर्षयता घटेका सवारी दुर्घटनाका मुख्य कारणसहित चालकलाई प्रशिक्षण दिएका थिए ।