घरबनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी

काठमाडौं । रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् ।

त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक भत्ता र मेहनत मजदुरीबाट बचाएको रकम अब उहाँसँग छैन । थोरै रकममा घर बनाइदिने प्रलोभन दिएर ५४ हजार नगद बुझी लगेका व्यक्ति उहाँले खोज्दै गरेको आठ महिना बितेको छ ।

त्यसैगरी कोटहीमाई गाउँपालिका–१, सिपवाकी ६० वर्षीाय जमीरुन निसाको अनुहारमा कुनै चमक छैन । थोरै खर्चमा पक्की घर पाउने प्रलोभनमा फस्नुभएकी निसाले सम्मरीमाई–७ भैसागहनका मकसुद मुसलमानलाई चारकोठे पक्की भवन बनाइदिन दिनुभएको एक लाख आठ हजार फिर्ता पाउने छाँटकाँट छैन ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका प्रेमलाल कोहारको हाल पनि उस्तै छ । गरिबीले जेलिएका कोहारले छिमेकी सँग रु एक लाख ५५ हजार ऋण लिएर मकसुदलाई बुझाएको बताउनुहुन्छ । कोहारले मकसुदलाई बुझाउनुभएको सो रकमको न उहाँसँग कुनै रसिद छ न कुनै कागज प्रमाण ।

कोटहीमाई गाउँपालिका– १ परस्पुरका मंहगुले पाइपाइ जोडेर राखेको कमाइ ठगिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “बुढ्यौलीमा ओतका लागि जस्ताको घर बनाउने तथा औषधि उपचार खर्चका लागि जम्मा गरि राखेको रु ५४ हजार सम्मरीमाई–५ खखडउरका बरखु हरिजनले प्रलोभन दिएर लगे ।

उहाँका अनुसार पहिलो पटक सम्मरीमाई–७ भैसागहन ९केराहाडिह० मा भेटिएका बरखुले पैसा बुझाउनुस् एक महिना भित्र घर बनाएर दिन्छु भनेको आज करिब आठ महिना बितिसक्दा पनि बनाइदिएका छैनन् । “न त रकम नै फिर्ता गरेका छन, अहिले त भेट्नै छोड्नुभयो, फोन गर्दा, बाहिर छु भन्छन्”, गहँभरि आसु पार्दै उहाँले व्यथा सुनाउनुभयो ।

सिपवाकी जमीरुन निसाले भन्नुभयो, “जस्तापाताको सानो टहरामा बासोबास रहेको मेरो परिवारका लागि एक महिनाभित्रै सउदीको एक गरिब निर्माण संस्थाले पक्की घर बनाइदिने आश्वासनपछि खुशीको सीमा थिएन र नातेदारकहाँबाट ब्याजमा पैसा खोजेर बुझायौँ । करिब आठ महिना बित्यो न घर बन्न सक्यो न पैसा नै फिर्ता पायौँ ।

उहाँका अनुसार मकसुदलाई भेटदा कहिले रकम फिर्ता गर्ने र कहिले घर बनाइदिने आश्वासन दिन्छन् । दुई थान फोटो, नागरिकताको फोटोकपी र नगद रकम बुझाएको कुनै रसिद वा कागज प्रमाणसमेत नपाएको उहाँले बताउनुभयो ।

महिलवार गाउँका माया कुर्मी, गुडिया लोध र पंचम हरिजन समेतले चारकोठे पक्की घर बन्ने प्रलोभनमा ऋणजम गरी जनही रु एक लाख ५५ हजारका दरले अलीलाई नगद रकम बुझाएको छ महिना बढी बित्न लाग्यो तर न घर बन्नसक्यो न त उहाँहरूले बुझाएको रकम फिर्ता पाउनुभयो ।

शान्ति, सुरक्षा र आवश्यक कारवाहीका लागि माया कुर्मी, गुडिया लोध र पंचम हरिजनसमेतले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन दिनुभएको छ । मकसुद मुसलमानले बाहिर मुलुक सउदी अरबबाट विदेशी प्रोजेक्ट आएको र गरिब परिवारका लागि निःशुल्क घर बनाइदिने भन्दै जनही एक लाख ५५ हजारका दरले असुल गरेको निवेदनमा उल्लेख छ ।

निवेदनमा लेखिएको छ, “निजले झुठो आश्वासन दिने गरेको तथा आजको मितिसम्म पनि केही कार्य व्यवहार नभएको र उनी विदेश जाने योजनामा रहेको बुझिएकोले विदेश जान नपाउने गरी व्यवस्था मिलाइदिन तथा आवश्यक कारवाहीका साथै दिइएको रकम फिर्ता दिलाउन र निजले गाली गलौज र धाक धम्कीसमेत दिएकाले शान्ति, सुरक्षा र जिउधनको रक्षा गरि पाउन अनुरोध छ ।”

त्यस्तै महंगुले रकम फिर्ता गराई पाऊँ भन्दै सम्मरीमाई–७ बेतकुइयाँस्थित मेलमिलाप केन्द्रमा निवेदन दिनुभएको पनि महिना दिन बित्न लागेको छ । मेलमिलाप केन्द्रका संयोजक राजेन्द्रप्रसाद लोधले बरखुलाई छलफलका लागि हाजिर हुन आउने पत्र बुझाइसकिए पनि अटेर गरी छलफलमा नआएको बताउनुभयो ।

यता पैसा असुलीको आरोप लागेका बरखु हरिजनलाई उहाँले काम गर्ने संस्थाको नाम समेत थाहा छैन । उहाँले भन्नुभयो, “मैले रकम मात्र असुलेको छु घर निर्माण संस्था दर्ता भए नभएको बारे कुनै जानकारी छैन । मेरो अगुवा अरु कोही हो । केही दिनमा सबैको रकम फिर्ता दिने छन् ।”

मकसुदले रकम, नागरिकताको प्रतिलिपि र फोटो सङ्कलन गर्न तथा जग्गा नापजाँच गर्न केही अस्थायी कर्मचारी राखेका छन् । एक कर्मचारीलाई दैनिक रु एक हजार ज्याला तथा पाँच सय चियानास्ता खर्च दिने गरेका छन् । कर्मचारीलाई ‘गरीबी निर्माणको सहयोगदाता’ नामक संस्थाको परिचयपत्र समेत दिएका छन् । तिनै कर्मचारीमध्येका एक हुन बरखु हरिजन । मकसुदले यसरी विभिन्न व्यक्तिबाट करिब रु दुई करोड असुल गरिसकेको र सोका लागि प्रक्रिया मिलाउन उनी साउदी अरब जान लागेको बरखुले बताए ।

यस सम्बन्धमा संस्थाका मुख्य व्यक्ति अरसद अली भएको र उहाँ साउदी अरबमा रहेको मकसुदले बताउनुभयो । संस्था दर्ता भए नभएको बारे संस्थाका अध्यक्षलाई मात्र थाहा रहेको र आफूलाई कुनै जानकारी नरहेको मकसुदको भनाइ छ ।

मकसुदले करिब ६०–६५ जनासँग मात्र पैसा बुझेको बताउनुभयो । उहाँले भन्नुभयो, “समान्य निर्माण खर्च सबैसँग असुल गरेको छु, घर नबने सबैको रकम फिर्ता दिन्छु । विस्तृत जानकारीका लागि संस्थाका प्रमुख केही दिनमा नेपाल आउँदै हुनुहुन्छ, उहाँसँग मात्र सोध्नु होला । मैले केही भन्दैन ।

माया कुर्मीलगायतले जिल्ला प्रशासन कार्यालयमा दिनुभएको निवेदन जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक कारवाहीका लागि पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट सम्बन्धित इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेको पत्र कारवाहीको प्रक्रियामा रहेको इप्रका मर्चवारले बताएको छ । प्रहरी पटक–पटक घरमा जाँदा पनि मकसुद मुसलमानलाई भेट्न नसकिएको इप्रका मर्चवारका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर खत्रीले बताउनुभयो । रासस
–––