ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरेका छन् । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको छ ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न सुरु गरिएको जानकारी दिएका छन् ।

४ दिनदेखि विभिन्न इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा ठमेलभित्रको विद्युतका खम्बामा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काट्न सुरु गरेका उनले बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को बैठक बसेर तार काट्ने तथा व्यवस्थापन गर्ने काम सुरु गरिएको उनको भनाइ रहेको छ । परिषद्ले सातघुम्ती हुँदै सोह्रखुट्टे, बहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य सुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिएका छन् ।