राष्ट्रिय परिचयपत्रका लागि २ लाख ९० हजारको विवरण सङ्कलन

काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि मोरङमा २ लाख ९० हजार जनाको विवरण सङ्कलन गरेका छन् । गत कात्तिकदेखि एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरेका थिए ।

यसैगरी बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर महानगरपालिकाबाहेक सबै पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पन्न भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार देशभरका ३५ जिल्लाका ९६ लाखको विवरण सङ्कलन भइसकेको छ ।

मोरङको बेलबारी नगरपालिकामा आज आयोजित राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र निकै महत्वपूर्ण हुने भनिएकाले यस्तो अभियानमा सरिक हुन आग्रह गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालयमा दैनिक सात सय मानिसलाई राहदानी, सिफारिस, नागरिकता तथा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन् ।