के एमाले–माओवादी केन्द्र सत्ता समीकरण होला र ?

काठमाडौँ । सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट पुगे।

पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किएका छन्। प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।

एकातिर कांग्रेसको संसदीय दलको नेता नै को बन्ने भन्ने टुंगो छैन। त्यहाँ आकांक्षी पनि धेरै छन्। महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, शेखर कोइरालालगायतका धेरै नेता लाइनमा छन्। जोसुकै संसदीय दलको नेता भएपनि कांग्रेसले नेतृत्व छोड्ने अवस्था पनि देखिँदैन।

गठबन्धनबाट आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भवाना क्षीण देखेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले दुवैतिर संवाद अघि बढाएका छन्, दूतहरू परिचालन गरेका छन्। निर्वाचनमा सोचेजस्तो नतिजा नआएपछि युवा नेताहरू विपक्षमा बस्नु पर्ने बताइरहँदा अध्यक्ष प्रचण्ड भने आफू प्रधानमन्त्री हुन लविङ गरिरहेका छन्। जसले प्रचण्डलाई प्रधानमन्त्रीको स्वीकार गर्छ उतै लाग्ने माओवादीको तत्कालीन रणनीतिमा देखिन्छ।

गोरखामा आफू पढेको विद्यालयमा पुगेर प्रचण्डले छिट्टै आफू प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्। ‘अब मसँग धेरै वर्ष समय छैन। तपाईँहरूको आशीर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु,’ उनले त्यहाँ भने। अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका लागि गठबन्धन छोड्न पनि तयार देखिएका छन्।

यता मंगलबार भएको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव गुरुङको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। माओवादी केन्द्रका अध्यक्ष गुरुङ कांग्रेससँग भन्दा वाम गठबन्धन हुनुपर्छ भन्ने लाइनका नेता हुन्।

सरकारको गठनको प्रक्रिया नै सुरुवात नभएको भन्दै सत्ता समीकरण विषय बोल्न उनी पन्छिएका छन्। महासचिव गुरुङले आफू शुभकामना दिन मात्रै बालकोट गएको दाबी गरे। ‘शुभकामना दिन गएको हुँ, अरूलाई शुभकामना पाँचदलीय बैठकमा दिइयो तर ओली जी त्यहाँ आउने कुरा भएन, यसैले घरमै गएर शुभकामना दिएको हुँ,’ उनले भने।

उनले सरकार गठनको विषयमा वैधानिक प्रक्रिया नै सुरुवात नभएकाले त्यस विषय कुराकानी नभएको दाबी गरे। उनले भने, ‘सबै प्रक्रिया पूरा गरेपछि मात्र सरकार बन्ने हो। सरकार बनाउने समय आएपछि सरकार बन्छ। निर्वाचन आयोगले गर्नुपर्ने काम सकेपछि अन्तिम रिपोर्ट राष्ट्रपतिलाई बुझाउँछ, त्यसपछि मात्र प्रक्रिया अगाडि बढ्ने हो। ’

प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ। नेकपा एकीकृत समाजवादीको १०, राष्ट्रिय जनमोर्चा र नेमकिपाको १र१ सिट छ। अन्नपूर्णपोष्टबाट