नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज दिउँसो १ बजे

काठमाडौ । नवनिर्वाचित सांसदहरूले आज शपथ ग्रहण गर्दैछन् । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्ने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका हुन् । उनले आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ ।

नवनिर्वाचित २ सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएका थिए ।

शपथग्रहण कार्यक्रम अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्नेछ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने पाण्डेले बताए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ। सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब ५ हजार ८ सय रुपैयाँको लागतमा तयार भएको हो।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।