सरकार गठनको समयसीमा आज सकिँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गरेको एक साताको समयसीमा आज आइतबार सकिँदै छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले पुस ३ गते दलहरूलाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समय आज साँझ ५ बजे सकिँदै छ ।

राष्ट्रपतिले प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिका लागि गत शुक्रबार आह्वान गरेको थियो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा छन् ।

शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठक आइतबार बिहान फेरि बस्ने गरी सकिएको छ । निर्वाचन सम्पन्न भएपछि शनिबार बसेको पाँचदलीय गठबन्धनका शीर्षनेताहरूको बैठकले निर्वाचन परिणाम र आगामी दिशाबारे छलफल गरेको र थप छलफल आइतबार बिहान गर्ने गरी टुङ्गिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

“निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबारे गम्भीररूपमा छलफल भएको छ र आगामी दिनमा कसरी जाने भन्नेबारे पनि छलफल भएको छ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ”, मन्त्री कार्कीले भने ।

सञ्चारमन्त्री कार्कीले संवैधानिक बाध्यताअनुसार आइतबारसम्ममा सरकार गठनका लागि दाबी गर्नुपर्ने भएकाले गठबन्धनका शीर्ष नेताहरू त्यही तयारीसाथ सहमति निर्माण गर्नेतर्फ केन्द्रित भएको बताए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी भएका थिए ।