कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

काठमाडौँ । कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई अतिरिक्त मात्रा बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।

मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको बताएका छन् ।

छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको र नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस नदेखिएको बताए ।

मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउन भनेको छ । सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ ।

सम्झौता गरिएको खोपमध्ये २ पटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ । मन्त्रालयका प्रवक्ता डा ठाकुरले १५ लाख मात्रा बुस्टर डोज खोप ल्याउन थालिएको जानकारी दिएका छन् ।

यसैगरी कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ र अब त्यही बाँकी रहेको मध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको छ । यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको जानकारी दिएका छन् ।