प्रचण्डले सम्हाले बागडोर

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात सारथिसहित सोमबार सरकारको बागडोर सम्हालेका छन्। उनले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। सारथिमध्ये तीनजना उपप्रधानमन्त्री छन्। जसमा विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। एमालेका पौडेलले अर्थ, माओवादीका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र रास्वपाका लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

अन्य मन्त्रीमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमतबाट अब्दुल खान छन्। दाहालले उनीहरूलाई मन्त्रालय भने तोकेका छैनन्। कार्यभारपछि तोकिने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

दौरासुरुवालमा सजिएर शपथ
शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष देश र जनताको नाममा पद तथा गोपनीयताको शपथ लिएका थिए। प्रायः कोट, पाइन्ट सुट र भादगाउँले टोपी पहिरिने दाहालले सोमबार शपथमा भने दौरा सुरुवाल लगाएका थिए। उनले २०६५ र २०७३ मा प्रधानमन्त्री बन्दा दुवै पटक शपथमा कोट, पाइन्ट लगाएका थिए। तीन उपप्रधानमन्त्री र अन्य मन्त्रीले पनि शीतल निवासमै शपथ लिएका थिए।

दाहालले शपथलगत्तै लैनचौरस्थित सहिद स्मृति स्मारक पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा गएर पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए। यस्तै, पार्टी कार्यालय पेरिसडाँडामा रहेको सहिद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पणपछि उनले सिंहदरबार गएर पदभार सम्हालेका हुन्। दाहाल अब एमालेसँगको सहमतिबमोजिम अढाई वर्ष प्रधानमन्त्री पदमा रहनेछन्।

राप्रपा र नाउपा सरकारमा नजाने
माओवादी अध्यक्ष दाहाल आइतबार एमालेसहित दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन्। यो समीकरणमा एमाले, माओवादी, रास्वपा, राप्रपा, नाउपा, जनमत र स्वतन्त्रका ३ गरी १ सय ६९ सांसद छन्। राप्रपा र नाउपा समीकरणमा रहे पनि सरकारमा भने सहभागी हुन अस्वीकार गरेका छन्। राप्रपाले यसअघि नै सरकारमा नजाने निर्णय गरेको थियो। नाउपाले आफ्नो माग र मुद्दा सम्बोधन हुनुपर्ने अडान लिएको छ।

नाउपा प्रवक्ता दामोदर पण्डितले आफ्नो पार्टीको प्राथमिकता सरकारमा जानु नरहेको बताए। ‘हाम्रा पहिलो प्राथमिकता हाम्रो माग र मुद्दा हुन्। रेशम चौधरीसहित धनगढीका राजबन्दीलाई निशर्त रिहा गर्नुपर्छ’, प्रवक्ता पण्डितले भने ।

उनले भने, ‘टीकापुर घटनामा ५८ जना निर्दोष थारुको नाममा अहिले पनि मुद्दा छ। ग्रिसचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ । त्यसपछि मात्रै सरकारमा जाने वा न जाने कुरो हुन्छ।’

अर्थतन्त्रका समस्या समाधान गर्छु : पौडेल
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने निर्णय गरेका छन्। मन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा देखिएका सम्पूर्ण समस्या हल गर्न आफू लागि पर्ने बताएका छन्।

पदभार ग्रहणपछि सचारमाध्यमसँग उनले अर्थतन्त्रमा धेरै चुनौती देखापरेको उल्लेख गरे। अर्थ जगतका सबै पक्षसँग सहकार्य गरेर समस्या समाधान गर्नतिर लाग्ने प्रतिबद्धता पौडेलले जनाए। ‘विज्ञहरूसँग परामर्श गरेर बिगँ्रदो अर्थतन्त्रलाई सबल बनाउँछौं’, उनले भने, ‘समस्या काबुबाहिर छैनन्, म सबैलाई विश्वस्त हुन आग्रह गर्छु कि अर्थतन्त्र सुधारमा नै मेरो प्रमुख ध्यान रहनेछ।’

पैसाको बलमा मन्त्रालय कब्जा गर्ने दिन गयो : श्रेष्ठ
नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको मुख्य काम राष्ट्रिय स्वधिनताको रक्षा गर्दै सुशासन कायम गरी समृद्धिमा फड्को मार्नु रहेको बताएका छन्। कार्यभार सम्हाल्दै श्रेष्ठले राजनीतिक परिवर्तनको मुख्य लक्ष्य जनताको जीवनमा परिवर्तन ल्याउनु रहेको बताए। भने, ‘राजनीतिक परिवर्तन भयो। अब सामाजिक न्यायसहितको समृद्धि जनतालाई दिनुपर्छ।’

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमिततालाई काडाइपूर्वक रोक्नतर्फ सरकारले काम गर्ने उनको भनाइ थियो। ‘पैसाको बलमा बाहिरबाट मन्त्रालयलाई कब्जा गरेर ऐन नियम बनाउँछु भन्ने दिन गयो’, उनले भने, ‘संविधान, नियम, कानुनअनुसार भनसुन नगरिकन र घुस नखुवाइकन जनताको काम हुनुपर्छ। यस्ता दिन आउनुपर्छ। त्यसपछि मात्रै अरू परिवर्तनको अर्थ रहन्छ।’

निर्मलालाई न्यायको पहल गर्छु : लामिछाने
नवनियुक्‍त उपप्रधान तथा गृहमन्त्री लामिछानेले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने पहिलो निर्णय गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै लामिछानेले उक्त घटनाको अनुसन्धान गर्ने बताएका हुन्।

गृह मन्त्रालयबारे जनगुनासो बढी आउने गरेकाले पनि आफूले यो मन्त्रालय रोजेको उनको भनाइ थियो। ‘सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी गृह मन्त्रालयका बारेमा गुनासो आएको थियो। गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ हो’, उनले भने, ‘स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्नेछु।’ अन्नपूर्णपोष्टबाट