अपाङ्गता विरुद्ध भएको हिंसा र न्यायमा पहुँच पु¥याउन गोष्ठी सम्पन्न

काठमाडौँ । मंगलबार काठमाडौँमा “अपाङ्गता भएका महिला विरुद्धको हिंसा, नीतिगत सवलता र न्यायमा पहुँच” पु¥याउने उद्धेश्यले एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अधिवक्ता तथा कानुनविदहरू, अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाका प्रतिनिधीहरू, विभिन्न आयोग तथा सरकारी निकायका प्रतिनिधीहरू र उपत्यका भित्रका विभिन्न ६ वटा नगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका सदस्यहरू बिच छलफल गरिएको थियो ।

छलफलमा अपाङ्गता भएका महिलाहरू प्रति भइरहेका हिंसा बारे कसरी आवाज उठाउन सकिन्छ ? त्यसका लागि नीतिगत रूपमा के कस्ता सवल पक्षहरू छन् त ? आगामी दिनमा कसरी यसलाई अझ सवल बनाउँदै लान सकिन्छ ? यदि अन्याय भएको खण्डमा त्यसका लागि कसरी न्यायमा पहुँच पुग्न सक्छ त ? भन्ने विषय उठाएका थिए ।

कार्यशालामा सहभागीहरूले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पु¥याउनका लागि आफ्ना–आफ्ना निकायमा के के गर्न सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रमले सचेत गराएको बताउँदै आगामी दिनमा यसका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ र श्रवण–दृष्टिविहीन अभिभावक संघको संयुक्त आयोजनामा सञ्चालित सो कार्यशालालाई अपाङ्गता अधिकार वकालत कोषले सहयोग गरेको थियो । कार्यशालामा ५० जना व्यक्तिहरूको सहभागिता रहेका थिए ।