नेपालमा सामाजिक अपराध, चुनौति बन्दै

नेपालमा पछिल्ला वर्षहरुमा अपराधका घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ४ वर्षमा देशमा १ लाख ८४ हजार ६८५ को संख्यामा अपराधका घटनाहरु भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ३९ हजार ३१५ वटा अपराध भएका छन् । यो संख्या अघिल्लो वर्षभन्दा करिब ७ हजार ८५५ बढी हो । आव ०७३/७४ मा ३१ हजार अपराधका घटना प्रहरीमा दर्ता भएका थिए ।

आ.व.२०७०/७१ मा मात्रै देशभर २७ हजार ३८६ वटा अपराधका घटना भए । जुन पछिल्लो समय झनै बढ्दो क्रममा छ । २०७१/७२ मा ६८४ वटा अपराधको घटना बढेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

सामाजिक अपराधका घटना सबैभन्दा धेरै

नेपाल प्रहरीको तथ्याङ्क अनुसार सामाजिक अपराधका घटना धेरै हुने गरेको पाइएको छ । पछिल्लो ६ वर्षमा ६० हजार ८९४ वटा सामाजिक अपराधका घटनाहरु भएका छन् । जुन कुल घटनाको ३३ प्रतिशत हो ।

पछिल्लो आ.व. २०७५/०७६ को १० महिना मात्रै ७ हजार ४९८ वटा सामाजिक अपराधका घटनाहरु भएका छन् । प्रत्येक महिना औसतमा ६२४ वटा सामाजिक अपराधको घटना हुने गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

सामाजिक अपराध अन्तर्गत धर्म परिवर्तन, राज्य विरुद्वको अपराध, जातीय भेदभाव तथा छुवाछुत, आवश्यक वस्तु संरक्षण ऐन, कुटपिट अंगभंगलगायत मुद्दा रहेका छन् ।

संगठित तथा आर्थिक अपराध पनि बढ्दो

२०७०/०७१ आर्थिक वर्षमा मात्रै देशभर ३ हजार २ वटा संगठित तथा आर्थिक अपराध भएको देखिन्छ । यो तथ्यले प्रत्येक महिना औसतमा २५० वटा संगठित तथा आर्थिक अपराध भएको देखाउँछ ।

२०७०/०७१ आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/०७६ चैतसम्म संगठित तथा आर्थिक अपराधको संख्या बढ्दो रहेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७५/०७६ चैतसम्म ३ हजार ९२७ वटा संगठित तथा आर्थिक अपराध भएको देखिन्छ । पछिल्लो दस महिनामा प्रत्येक महिना औसतमा ३१० वटा संगठित तथा आर्थिक अपराध हुने गरेका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा ३ हजार १८९ घटना भएको थियो भने यो संख्या आर्थिक वर्ष २०७२/७३ मा बढेर ३ हजार ७२३ पुग्यो ।

आर्थिक वर्ष २०७३/०७४ मा यो संख्या घटेर ३ हजार ५९३ पुगेको देखिन्छ । तर, आर्थिक वर्ष २०७४/०७५ मा यो संख्या ह्वातै बढेर ४ हजार ५६५ पुगेको छ ।

जुवा, खोटा चलन, ठगी, लागूऔषधको कारोबार, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा संकलन, सरकारी छाप दस्तखत किर्ते, संगठित अपराध र हातहतियार तथा खरखजानासम्बन्धी मुद्दालाई प्रहरीले संगठित तथा आर्थिक अपराध भनेर उल्लेख गरेको छ ।