५ करोडको क्याथल्याब ७ करोड कसरी भयो ?

काठमाडौं,जेठ । राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीपकुमार यादवको प्रमाणपत्र नक्कली फेला परेपछि यही आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलायो । 

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीका लागि विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।

यादवको इन्जिनियरको सर्टिफिकेट नक्कली रहेको हुँदा आवश्यक छानबिनसहित कारबाही गर्न परेको उजुरीका आधारमा अख्तियारले उनका विषयमा छानबिन गरेको थियो। छानिबनका क्रममा दोषी पाइएपछि प्रमाण र कसुरअनुसार हदैसम्मको सजायको मागदाबीसहित यादवविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले उनीमाथि मुद्दा चलाएपछि शल्यचिकित्सक रामेश कोइरालाले एक गम्भीर प्रश्न गरेका छन् । उनले नक्कली प्रमाणपत्रको भरमा नभएको दरबन्दीमा कसरी इन्जिनियर नियुक्त गरियो भन्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रश्न गरेका हुन् । 

सँगसँगै उनले भेरी अस्पताललाई किनिएको ५ करोडको उही क्याथल्याव आफूले किन्दा कसरी चाहिँ ७ करोड भयो भन्दै अर्को प्रश्न पनि गरेका छन् । 

यस्तै उनले ४३ करोडको भवन भेरिएसनमार्फत ६० करोड पुर्याइएको प्रतिपनि प्रश्न तेर्स्याएका छन् । 

कोइरालाले यस्ता प्रश्न उठाएपछि यसबारे सामाजिक सञ्जालमा बहस भइरहँदा ट्वीट भने एकाएक गावय हुन पुगेको छ । उनले अस्पताल प्रशासनको दवावमा ट्वीट हटाएको हुन सक्ने बुझिएको छ । 

अनियमितता, बेथितिलगायतका विषयमा उनले सामाजिक सञ्जालमा छोटा र तिखा टिप्पणी गर्दै आएका छन् ।