गठबन्धनमा सामेल हुन एकीकृत समाजवादीमा दबाब

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज शनिबार स्थायी कमिटी बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु प्रधानमन्त्री बनेपछि सरकारलाई दिने समर्थन र सहभागिताको विषयलाई टुंगो लगाउन बैठक बोलाइएको हो।

आजको स्थायी कमिटी बैठकमा निर्वाचनको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सरकार र गठबन्धनमा सहभागी हुने वा नहुने, सरकारलाई समर्थन गर्नेबारे निर्णय लिन बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन्। एकीकृत समाजवादीभित्र गठबन्धनमा आबद्ध हुन नसके सांसदहरु जोगाउन नसकिने चिन्ता देखिएको पार्टीभित्र नेताहरु बताउन थालेका छन्। नेताहरुले एमालेसँग मिलेर नगए यस अगाडि पाएका धेरै पद पनि गुमाउनुपर्ने अवस्था आउने भन्दै नेतृत्वसँग चिन्ता व्यक्त गरेका छन्।

एकीकृत समाजवादी पार्टी गत मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेको छैन। अध्यक्ष नेपालले पार्टीभित्र छलफल गर्दा गठबन्धनमा जान हुने र नहुने मिश्रित सुझाव आएको छ। एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी रहेका छन्।

‘सरकारको समर्थनको दायरा विस्तार गर्नमा मात्र एससँग छलफल’
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन नेपाललाई सत्तारुढ दलका नेताहरूले आग्रह गर्दै आएका छन्। प्रधानमन्त्री प्रचण्डसहित एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, नेता महेश बस्नेतलगायत माओवादी केन्द्रका नेताहरूले समेत सरकारमा सहभागी हुन नेपाललाई आग्रह गर्दै आएका छन्।

नयाँ समीकरणपश्चात बुधबार बिहान ललितपुरस्थित प्रचण्डुको नातेदारको सिटी स्केप अपार्टमेन्टमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो। भेटमा प्रचण्डले नेपाललाई गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए। प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिको आकांक्षा राखेको स्रोतको भनाई छ। पछिल्लो समयमा ओली(नेपालबीच भेट गराउन प्रचण्ड लागि परेका छन्।

यता माधव नेपाललाई राष्ट्रपतिसहित नेकपा एससँग पार्टी एकताबारे भइरहेको चर्चालाई भने उपमहासचिव प्रदीप ज्ञवालीले खारेज गरेका छन् । एकीकृत समाजवादी नेकपा एमाले समाहित हुने र नेपाललाई राष्ट्रपति बनाउने चर्चा भएपछि ज्ञवालीले चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र भएको प्रष्ट पारेका छन्। उनले सरकारको समर्थनको दायरा विस्तार गर्नमा मात्र छलफल चलिरहेको धारणा राखेका हुन्।

पार्टीभित्र कार्यकर्ताले विरोध गर्न थालेपछि ज्ञवालीले सङ्कटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय नहुने प्रष्ट पारे। ‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो। सङ्कटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन।’शुक्रबार बिहान ज्ञवालीले भने,‘इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन।’

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। बालकोटको बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ। प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्। अन्नपूर्णपोष्टबाट