कार्यक्रममा बोलाएर मन्त्रीलाई देखाइयो कालो झन्डा

काठमाडौं, असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कालो झन्डा देखाइएको छ । आदिवासी जनजाति युवा महासंघले शुक्रबार मन्त्री पण्डितलाई ललितपुरस्थित एक कार्यक्रममा नाराबाजी गर्दै कालो झन्डा देखाएका हुन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ललितपुरमा भएको कार्यक्रममा बोलेर सकेपछि मन्त्री पण्डितलाई कालो झन्डा देखाइएको हो ।

मन्त्री पण्डित राजीनामा र लोक सेवाको विज्ञापन फिर्ता गर भन्दै कार्यक्रम हलभित्रै नाराबाजी भएको थियो ।

आयोजक नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आरक्षणविरूद्ध मन्त्रीले नकरात्मक अभिव्यक्ति दिएपछि विरोध गरेको बताए ।

‘मन्त्रीज्यूले आरक्षणबारे सकरात्मक कुरा गर्नुहुन्छ भन्ने अपेक्षा थियो उहाँले नकरात्मक कुराहरु गर्नुभयो,’ उनले भने, ‘संविधान विपरीत लोक सेवाको विज्ञापन निकालियो । फिर्ता गर्न हामी आन्दोलनमा छौं । आन्दोलनका कार्यक्रमअन्तर्गत नै कालो झन्डा देखाइएको हो ।’