भलिबल च्याम्पियनसिपको महिलातर्फआर्मी सेमिफाइनलमा

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । आर्मीले गण्डकीमाथि २५-११, २५-१०, २५-१५ को जित निकाल्यो । समूह ‘बी’ मा रहेको आर्मीले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । आर्मीले समूहमा ६ अंक बनाएको छ । गण्डकीको यो दोस्रो हार हो ।

महिलाकै अर्को खेलमा एभरेष्ट भलिबल क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको छ । एभरेष्टले २५-१२, २५-१२, २५-१४ को जित निकालेको थियो । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ आठ टोलीको सहभागिता छ ।

पुरुष र महिला दुवैतर्फका विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ । गोरखापत्र