संसदीय दलमा महामन्त्री थापालाई कम मत खस्नुको कारण खोज्दै शेखर समूह

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहभित्र संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाको पक्षमा कम मत खस्नुको कारण खोजीनीति भएको छ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आइतबार बसेको बैठकमा पुस ६ गते सम्पन्न निर्वाचनमा महामन्त्री थापाको पक्षमा समूहकै मत नखस्नुको कारण खोजीनीति भएको हो।

बैठकमा सहभागी एक नेताकाअनुसार दलको नेताका लागि भएको निर्वाचनमा समूहको मत एकीकृत हुन नसक्नुको कारणबारे कुरा उठेको थियो। बैठकमा समूह भनेर लागेपछि त्यसमा आवद्ध सबैको मत आउनुपर्ने अन्यथा समूह भनेर हिँड्न नहुनेसमेत कुरा उठेको पनि उनले बताए ।

‘संसदीय दलमा हाम्रो पक्षको मत किन एकीकृत हुन सकेन। किन कम आयो, टिम भनेर लागे पछाडि टिममा भोट आउन पर्‍यो नि कि टिम भनेर हिंड्न भएन, उनले बताए ।

महामन्त्री थापाले अनुमान गरेभन्दा पनि कम २५ मत मात्रै पाएका थिए। इतर समूहले आफूहरुको मत ३१ रहेको दाबी गरेको थियो। दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा ६४ मतका साथ नेता चुनिएका थिए।