विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन

काठमाडौँ । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन् ।

२८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले झापा क्षेत्र नं ३ को विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ, उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आउनुभएका उनले भने, चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु । गुम्बाका अध्यक्ष सुभाषचन्द्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रदेश नं १ का कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलालगायतको उपस्थिती रहेको थियो ।

पूर्वकार्य समितिका सदस्यलाई सम्मान र तामाङ जातिको सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । हरेक वर्ष एकरएक जनावर तथा चराचुरुङ्गीको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरेका छन् । तामाङलगायत बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।