प्रधानमन्त्री दाहालद्वारा नेत्री बललाई श्रद्धाञ्जलि

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य माया बलको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज प्रधानमन्त्रीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् । काठमाडौँ मेडिकल कलेजमा उपचाररत बलको गए राति निधन भएको थियो । त्रिपन्न वर्षीया बल विगत तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिइन् ।

सर्लाहीको हरिवन नगरपालिका–९ नयाँरोड घर भएकी बलको स्वास्थ्यमा जटिलता देखिएपछि केही दिन पहिलेदेखि काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेका थिए ।

दिवङ्गत बल माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा सर्लाही, सिन्धुली, महोत्तरी, रौतहटलगायतका जिल्लाको नेतृत्वमा रहेर काम गरेका थिए । नेतृ बलको पति, ३ छोरी र १ छोरा रहेका छन् । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि दिइएपछि उनको पार्थिव शरीरको आजै अन्त्येष्टि गरिने बताएका छन् ।