चापागाँउमा बुद्ध चैत्यबाट मूर्ति चोरी

काठमाडौँ । ललितपुरको चापागाँउमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुई वटा मूर्ति चोरी भएको छ।

चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए।

चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको थियो।

चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ। बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन्।

यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ।