दोस्रो पटक विश्वासको मत लिदैँ प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा पुनः विश्वासको मत लिने मिति तय भएको छ।

चैत ६ गते विश्वासको मत लिने गरी समय तालिका मिलाउन आग्रह गर्दै प्रधानमन्त्री दाहालले संसद्लाई लिखित पत्राचारसमेत गरेका छन् ।

संसद्का प्रवक्ता एकराम गिरीले चैत ६ गते विश्वासको मत लिनका लागि बिहीबार प्रधानमन्त्रीको पत्र आएको जानकारी दिए ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा अघिल्लो सत्ता गठबन्धन टुटेपछि सरकारका सामेल दलले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए। सत्ता सहकार्यमा रहेको दलको समर्थन फिर्ता भएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री दाहालले छोटो अवधिमा नै दोस्रो पटक विश्वासको मत लिन लागेको। सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन फिर्ताको मितिले चैत १२ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा प्रधानमन्त्रीसँग छ। यसअघि पुस २६ गते पहिलो पटक प्रधानमन्त्रीले विश्वासको मत लिएको थियो।

नियुक्ति भएको करिब तीन महिनाको अवधिमा राजनीतिक कारणले दोस्रो पटक प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव सदनमा राख्न लागेको हो।

२७५ सदस्यीय प्रतिनिधि सभाको बहुमतले प्रधानमन्त्रीले विश्वासको मत पाउनु हुनेछ। विश्वासको मतका लागि प्रधानमन्त्रीलाई १३८ सांसद आवश्यक पर्नेछ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२ सिट छ। यस्तै कांग्रेसको ८९ सिट भए पनि एकको मताधिकार छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीको २०, एकीकृत समाजवादीको १०, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, नागरिक उन्मुक्तिको तीन सिट छ। यस्तै जनमोर्चाको एक सिट प्रतिनिधि सभामा छ।