संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड

फाईल तस्बिर

काठमाण्डौ । प्रतिनिधि सभाको वैठक यतिखेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा चलिरहेको छ । सरकार प्रमुखका रुपमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत मागिरहेका छन् ।

प्रधानमन्त्री बन्नका लागि कांग्रेसको गठवन्धन तोडेर एमालेसँग घाँटी जोड्न पुगेका दाहाल अहिले फेरि काग्रेससँगै जोडिन आईपुगेका छन् । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई एमालेले समर्थन फिर्ता गरेपछि अहिले फेरि पुनः विश्वासको मत माग्नु परेको हो ।

प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले गएको पुस १० गते आफू प्रधानमन्त्री बनेयता थुप्रै राम्रा काम भएको र नागरिकले अनुभव गर्ने गरी कैयौँ काम गर्नका लागि विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका छन् ।
राहदानी बनाउन दुःख कम भएको, ठूला लाइन हुने संस्थामा लाइन कम भएको, नेपाल प्रहरीको बढुवामा पहिलो पटक वरीयताअनुसार नै बढुवा भएको, कर्मचारी सरुवा नियमअनुसार भइरहेको, ठूला विकास निर्माणका आयोजनाको कामलाई गति दिएको, आफैँले हरेक दिन बेलुका विभिन्न आयोजना प्रमुखसँग प्रगतिबारे ब्रिफिङ लगायतका काम गरेको प्रचण्डको भनाइ छ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भताभुङ्ग पारेका कामलाई आफूले व्यवस्थित गराउने प्रयास गरिरहेको उनले दाबी गरेका छन् ।

गएको पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पुस २६ गते विश्वासको मत लिएका थिए । त्यति बेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिन लागेका हुन् ।