मेयर साहविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौँ । सिंहदरवार,बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ।

मेयर साहविरुद्ध रिटको पेशी न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशमा तोकिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

निवेदनमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानुन विपरित फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न माग गरिएको छ।

निवेदनमा भनिएको छ,‘नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संविधानमा भएको मौलिक हकको उपयोगबाट वञ्चित हुने भएकाले उक्त विषय सार्वजनिक सरोकारको विषयसमेत भएको हुँदा नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४, वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको छु।’
मेयर बालेनले केन्द्र सरकारको सहयोगबिना महानगर एक्लैले होर व्‍यवस्‍थापन गर्न नसक्ने बताएका थिए।