प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरु प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब १ दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई रोक्न प्रहरीले सडकमा बार लगाएको थियो । निषेधित क्षेत्रलाई तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

विगत २५ दिनदेखि उनीहरूले प्रदर्शन गर्दै आइरहेका छन्। आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विरोध गर्दै द्वन्द्व पीडितहरूले आफ्नो आन्दोलन जारी राखेका छन्।

सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक संसदमा दर्ता भएका छन् । ती विधेयकमा पीडकलाई उन्मुक्ति दिने व्यवस्थासमेत राखिएको भन्दै त्यसलाई संशोधन गर्न पीडितहरुले माग गर्दै आएका छन् ।