चट्याङ लागेर ३ जना घाइते

काठमाडौँ । चट्याङले सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ३ जना घाइते भएका छन् । गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घरमा चट्याङ परेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

चट्याङ लागेर घाइते हुनेमा दुर्गा कुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी भुजेल र ८ वर्षीय निकेश भुजेल रहेका छन् । दुर्गा कुमारीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

हिराकुमारी र निकेश उपचार पछि घर फर्केका छन् । घर बाहिर राखिएको बिजुलीको मिटर बक्समा चट्याङ परेको प्रहरीले जनाएको छ ।