चितवन २ मा रास्वपाका रवि लामिछाको जित पक्का

चितवन । प्रतिनिधि सभा अन्तर्गत आइतबार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ ।

भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने सबै वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म गणना हुँदा लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् ।

साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आठ हजार ३ सय ३० मत प्राप्त गरेका छन् ।

हाल सम्म ६४ हजार ५ सय ४५ मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । गणनामा हालसम्म ९ सय ९६ मत बदर भएको छ ।

मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको थियो । सो क्षेत्रमा ४३ स्थलका १ सय ३८ केन्द्रमा मतदान गरिएको हो ।

यस क्षेत्रमा १ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय ३ पुरुष र १ जना तेस्रो लिङ्गी छन् ।