अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न २ जना पक्राउ

रौतहट । अपहरण, शरिर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माधवनारायण नगरपालिका माधोपुर बस्ने २३ वर्षीय दिपेश भन्ने मन्त्रीबाबु राय र राजदेवी नगरपालिका मोहनपुर बस्ने २१ वर्षीय राजा भन्ने राजाबाबु पटेल रहेका छन् ।

मन्त्रीबाबु रायले परोहा नगरपालिका ३ तेजापाकड बस्ने ३० वर्षीय पुरूषलाई गत शनिबार आफ्नो घरमा बोलाई सर्लाहीको बलरामा घर बनाउनु छ भनि बलरास्थितमा रहेको रक्सी भट्टी पसलमा लगेको र उक्त पसलमा ८ र ९ जनाको अज्ञात व्यक्तिहरुले ती पुरूषलाई अपहरण गरी बन्धक बनाई पेस्तोल देखाई कुटपिट गरी ४ लाख रुपैयाँ माग गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पीडित र अपहरणकारीहको खोजी गर्ने क्रममा आइतबार बिहान पीडितलाई सर्लाहीको बलरा भन्ने स्थानबाट भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी अपहरणकारीमध्ये राजाबाबु पटेल र मन्त्रीबाबु रायलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।