चितवनबाट अत्यधिक जनमत ल्याएका रवि लामिछानेलाई प्रधानमन्त्री बनाऊँ

काठमाडौं । नेपालको इतिहासमा राजनीतिक दल दर्ता भएको चार महिना पनि वित्न नपाउँदै प्रतिनिधिसभामा २१ (उपनिर्वाचन सहित) सिटमा विजयी हुन सफल भएको रास्वपाका कारण अहिले ठूला भनिएका दलहरुमा तीव्र चिसोपन बढ्दै गईरहेको छ । रवि लामिछानेलाई उपनिर्वाचनमा हराउनका लागि बलपूर्वक १० दल गठवन्धन गरेपछि परिणाम भने ऐतिहासिक जनमत लामिछानको पक्षमा देखियो । विगतमा सञ्चारकर्म गरिरहँदा जनताको आवाज बोल्ने काम गरेकै कारण रविले यो परिणाम हात पार्न सफल भएका हुन् ।

राजनीतिक दलहरु गठवन्धनका नाममा आफ्ना सदस्यहरुको संख्या जोडघटाउ गर्दै रविलाई (उप)निर्वाचनमा जसरी हुन्छ पराजित गराउने अभियान मै जुट । रवि र उनको दल भने जनताको घरअाँगन मै पुगेर प्रजातन्त्र प्राप्तिको ३५ वर्षसम्म जनतामाथि गरेको अन्याय, अत्याचारका बारेमा बुझाउँदै हिंडे । सिंहदरबार वा बालुवाटारमा बसेर अंकगणितय खेलमा रमाएकाहरुलाई जनता जनार्दन भन्ने कुराको पुष्टि गराउन चितवनबासी र तनहुँवासीले घण्टीलाई विश्वास गरे अर्थात रवि लामिछाने सञ्चारकर्म गर्दा गरेको कार्यको स्मरण गरे ।

वास्तविक रुपमा रविले छोटो अवधिमा जुन चर्चा पाए । कार्यगत एकतामा रमाउने प्रयास गरे र आफूमाथि लगाईएको लाञ्छनालाई अन्याय भएको पुष्टि गराउने प्रयास गरे, सफल पनि भए । यस अघि वर्तमान सरकारलाई समर्थन गर्दै उपप्रधान तथा गृह मन्त्री बनेर नेपाली राजनीतिमा छलाङ्ग मारेका रवि थप हौसिएका छन्, जनताले उत्प्रेरित गर्ने कार्य गरिरहेका छन् ।

जसरी स्थानीय सरकारका रुपमा रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन जनताबाट उत्साहित हँुँदै भ्रष्टहरुको सातो उडाउँदै छन् । त्यसैगरी रविको जितले राष्ट्रिय पार्टी भनिएका एमाले, कांग्रेस माओवादीलाई त्रास निम्त्याइरहेका छन् ।

२०४६ सालका प्राप्त प्रजातन्त्रबाट हिसाव गर्ने हो भने जनताले करीव ३५ वर्षको अवधिमा मुलुकको परिवर्तन भएको देख्न सकेनन् । केही थान नेता र तीनका कार्यकर्ता, आसेपासे, परिवारवादमा रमाउनेहरु बाहेक यो देशको राजकीय सत्तामा पुग्नै सकेनन् । श्रीमान् र श्रीमती माननीय बन्ने ठूलो पद आफ्नैलाई सुम्पने अनि जनताका छोराछोरीलाई खाडीमा धेकेल्ने काम यिनैले गरे ।

वैदेशिक रोजगारी वा शिक्षाका लागि गएका र अप्ठेरामा परेकाहरुलाई विगतमा उनै रविले अप्ठेरोबाट उम्काउने काम गरे । देशमा सरकार छ र ? भन्ने अनुभूति गरिरहेकाहरुलाई एउटा सञ्चारकर्म गरिरहेका व्यक्तिले उद्दार गर्नु जनताका लागि ३५ बर्षमा नदेखिएको परिणाम बन्न पुग्यो । रविले विगतमा के गरे ? उनी अमेरिका किन भाँसिए ? उनको वाध्यता के थियो ? फरक पाटो हो ? उनलै लिएको ग्रिन कार्ड त्यागी सकेका छन् । तर यही देशमा धेरै नेता, सांसद मन्त्री, प्रशासकहरुसँग अझै पनि विदेशको ग्रिनकार्ड, पिआर अझै पनि छ । जसरी रविले त्यागे त्याग्न लगाइयो यो शुरुवात हो । यसलाई अव निरन्तरता दिने कार्य रास्वपाको नेतृत्वले गर्नु पर्दछ ।

यो देशको साँच्चिकै मुहार फेर्ने हो र जनताको आशा र भरोसालाई निरन्तर माया गर्ने हो भने विगतमा भएका गल्ती कमजोरीलाई सच्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान भ्रष्टमतिको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नु पर्दछ । यदि त्यसो होइन भने वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ढालेर चार महिनामा जनताको विश्वास जित्न सफल राष्ट्रिय स्वतन्त्र पाटीको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आजको आवश्यकता जस्तै भएको छ । यसका लागि रवि स्वयंले सरकारको नेतत्व लिने अाँट गर्नु पर्दछ । रविलाई साना दलहरुले सहयोग गर्दै ठूला भनिएका केही दलहरुले समर्थन गर्नु अनिवार्य भएको छ ।

जनताले परम्परागत रुपमा चलेका दलहरुलाई विश्वास गरेनन् । युवा पुस्तालाई विस्वास गरेका छन् अनि उनैलाई नेतृत्व दिनु पर्छ भनिरहेका बेला प्रतिनिधिसभामा सहभागी राजनीतिक दलहरु सच्चिँदै जति सक्दो चाँडो रवि लामिछानेलाई प्रधानमन्त्रीका रुपमा चयन गर्न तर्फ लाग्ने बेला ढिला भईसकेको छ । वैशाख १५ गते शुक्रबार मध्यरातीबाट संसदको हिउँदे अधिवेशन अन्त्य हुँदैछ । अधिवेशनसँगै वर्तमान सरकारको आयुलाई समेत अन्त्य गरी रवि लामिछानेको नेतृत्वमा नयाँ सरकार बनाई आगामी बर्षे अधिवेशनमा समर्थन लिने गरी अगाडि बढ्नु जरुरी देखिएको छ ।