अमेरिकाबाट ४० वटा पुरातात्विक सम्पदा नेपाल फर्काइँदै

काठमाडौँ । अमेरिकी सरकारले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका कलात्मक ४० वटा सम्पदा घर फर्काइदिने भएको छ । वासिङ्‍टन डीसीस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक समारोहमाझ अमेरिकी सरकारको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेको दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

अमेरिकाको हवाइ राज्यको होनोलुलुमा सन् २०१० अगस्ट १० मा त्यहाँको भन्सारले पक्राउ गरेको सम्पदाबारेको सूचना बाहिर आएपछि यसको ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) र प्रामाणिकता स्पष्ट भएपछि अमेरिकी सरकारले सम्पदा फिर्ता गरेको हो । सम्पदाको अधिकार तथा घरफिर्तीका लागि नेपालले सन् २०११ मै अमेरिकालाई औपचारिक पत्र पठाएपछि यो प्रक्रिया अघि बढेको हो ।

दूतावासमा आयोजित समारोहमा राजदूत श्रीधर खत्रीले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी(डीएचएस) र होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन(एचएसआई)लाई कृतज्ञता जनाउँदै सम्पदाको संरक्षण तथा घरफिर्तीमा अमेरिकी सरकारले देखाउँदै आएको तत्परताको प्रशंसा गरेका थिए । समारोहमा एचएसआईका उपसहायक निर्देशक रिकार्डो मेयरोल र विदेश मन्त्रालयका निमित्त उपसहायक सचिव स्कट अर्वमले पुरातात्विक सम्पदाको पहिचान तथा घरफिर्तीमा अमेरिकी सरकारको सहयोग निरन्तर रहने बताएका थिए ।

कलात्मक काष्ठकलामा हिन्दु, बौद्ध धर्मका प्रतिकात्मक बिम्ब तथा उन्नाइसौंदेखि बीसौं शताब्दीबीचको कलाशिल्पी कुँदिएको देख्न सकिन्छ । यीमध्ये केही सम्पदाको दूतावासमा सार्वजनिक प्रदर्शनी समेत गरिएको थियो । सम्पदामा भगवान् बुद्धको जीवन र सिकाइका चरणहरु झल्कने कलात्मक बिम्बसमेत समेटिएको छ ।

यसअघि पनि डीसीस्थित नेपाली दुतावासले उमामहेश्वरको प्रस्तरमुर्ति, चर्तुमुखी शिवलिङ्ग, नागाराजा, शाक्यमुनी बुद्ध र काष्ठकलाका नृत्यादेवी, प्रस्तरकलाका उभिएका बुद्धजस्ता पुरातात्विक सम्पदा घरफिर्ता गरिसकेको छ । कान्तिप्रबाट