बार्सिलोनाले जित्यो ला लिगा उपाधि

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा इस्पानियोललाई पराजित गर्दै बार्साले चार खेल बाँकी हुँदै ला लिगा उपाधि पक्का गरेको हो।

३४ खेल खेलेको बार्साको ८५ अंक छ। उति नै खेल खेलेको रियल मड्रिडको ७१ अंक छ। अब बाँकी सबै चार खेल जिते पनि रियलले बार्सालाई अंक तालिकामा उछिन्न सक्दैन।

बार्साले सन् २०१८/२०१९ को सिजनपछि पहिलोपटक उपाधि जितेको हो। अर्को क्याटलाना क्लब इस्पानियोललाई उसकै घरेलु मैदानमा ४/२ गोलले पराजित गर्दै उपाधि पक्का गरेको हो। इस्पानियोल भने ३१ अंकसहित रेलिगेसन जोनमा छ।

बार्साका लागि रोबर्ट लेवान्डोस्कीले २ तथा अलेजान्ड्रो बाल्ड र जुलिस कुन्डेले १/१ गोल गरे। इस्पानियोलका लागि जुभिएर पुआडो र जोसेलुले १/१ गोल गरेका थिए।

मेस्सीले क्लब छाडेपछि बार्साले पहिलोपटक लिग उपाधि जितेको हो। उनले २०२१ अगस्टमा क्लब छाडेका थिए। २०२१ नोभेम्बरमा जाभी म्यानेजर नियुक्त भएका थिए। प्रशिक्षकका रूपमा उनको पनि पहिलो उपाधि हो।