म्यानचेस्टरले जित्यो लगातार तेस्रोपटक प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले लगातार तेस्रोपटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको आर्सनलले गएराति नटिघम फरेस्टसँग १–० गोलको पराजय बेहोरेपछि सिटी तीन खेलअघि नै च्याम्पियन बनेको हो ।

पछिल्ला ५ मध्ये तीनवटामा पराजित हुँदा आर्सनल उपाधि नजिक पुगेर पनि पराजित हुन पुगेको हो । सिटीले भने पछिल्ला ६ सिजनमा ५ पटक लिग आफ्नो नाममा लेखाउन सफल भएको हो ।

३५ खेलबाट सिटीको ८५ अंक छ भने ३७ खेल खेलेको आर्सनलको ८१ अंक छ । अब सिटीले बाँकी तीनवटै खेल हार्दा पनि लीग जित्ने पक्का भएको छ । बाँकी एउटा खेल जित्दा आर्सनलको ८४ अंकमात्रै हुनेछ ।

लिग जितेको सिटी च्याम्पियन्स लिगको पनि फाइनलमा पुगेको छ । त्यस्तै एफ कपको फाइनलमा पनि म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । यी दुई फाइनल जिते सिटीले यसपटक ट्रेबल उपाधि उचाल्नेछ ।

२०१८ र २०१९ मा सिटीले जितेपछि २०२० मा लिभरपुलले जितेको थियो । त्यसपछि २०२१, २०२२ र २०२३ को लीग सिटीले उचालेको हो ।